एजेन्सी – इरानमा आज पत्रकार रुहोल्लाह जामलाई झुण्डाएर मृत्यु दण्डको सजाय दिएको छ ।
सन् २०१७ मा देशव्यापी आन्दोलन गर्न प्रेरित गरेको भन्दै इरानले ती पत्रकारलाई मृत्युदण्ड दिएको एपीले जनाएको हो ।
सन् २०१७ मा अर्थतन्त्रको विषयमा इरानमा देशव्यापी बृहत आन्दोलन भएको थियो । इरानी समाचार संस्था इर्नाका अनुसार ४७ वर्षका रुहोल्लाह जामलाई शनिबार झुन्ड्याइएको हो ।
यसअघि उनी देशनिकाला गरिएका थिए । देश फर्किएको एक महिनामै उनले आन्दोलन चर्काउन भूमिका खेलेको इरानी सरकारको दावी रहेको छ ।
गत जुन महिनामा उनलाई इरानी अदालतले मृत्युदण्ड दिने फैसला गरेको थियो । अदालतले उनलाई भ्रष्टाचार गरेर सरकारलाई उल्ट्याउन खोजेको आरोप लगाइएको थियो ।
पत्रकार रुहोल्लाहको वेबसाइट अमदन्युजले इरानमा प्रदर्शनलाई उक्साएको आरोप लगाइएको छ ।
सन् २०१७ को आन्दोलनको क्रममा ५ हजार मानिसलाई इरानी प्रहरीले गिरफ्तार गरेको थियो भने आन्दोलनका क्रममा २५ जनाको मृत्यु भएको थियो ।
समाचार लेखेकै कारण उनलाई झुन्ड्याइएको भन्दै यतिबेला विश्वभरका अधिकारवादी संस्थाले यस कार्यको विरोध गरेका छन् ।
रिपोर्टर्स विथआउट बोर्डरका अनुसार इरानमा प्रेस स्वतन्त्रताको अवस्था निकै नाजुक छ। सन् २०२० को तथ्यांक अनुसार इरान प्रेस स्वतन्त्रता भएको देशको १७३ औं स्थानमा पर्दछ ।


