काठमाण्डौं – जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गाको कित्ताकाट खुला गर्ने सरकारी निर्णयमा रोक लगाउने आदेश सुनाएको हो ।
सरकारले जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेपछि अधिवक्ता सन्तोष भण्डारीले २८ भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
२९ भदौमा सुनुवाइ भएको उक्त रिटमा यसअघि न्यायाधीश सुष्मलता माथेमाले अल्पकालीन अन्तरिम आदेश दिँदै निर्णय कार्यान्यवन नगर्न आदेश सुनाएकी थिइन् ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १८ भदौमा जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयले खेतीयोग्य जमिन प्लटिङ हुने र त्यसबाट जमिन नासिने भन्दै अधिवक्ता भण्डारीले रिट हालेका थिए ।


