काठमाण्डौं – सरकारले गोरखा भूकम्पको पुनःर्निर्माणमा सहजीकरणका लागि गठन गरेको राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणको समयावधि १ वर्षका लागि थप गरेको छ ।
२०७२ सालको पौष ११ गते गठन भएको प्राधिकरणको कार्यकाल यही १० गते सकिंने भए पछि म्याद थप गरिएको हो ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्राधिकरणको समयावधि पुष १० गतेबाट लागू हुने गरी १ वर्षका लागि थप गर्ने निर्णय गरेको हो । त्यसको औपचारिक पत्र आइतबारमात्र प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
भूकम्पबाट प्रभावित संरचनाहरुको पुनःर्निर्माण सम्बन्धी ऐन अनुसार बमोजिम प्राधिकरणको अवधि १ वर्ष थप गरिएको मन्त्रीपरिषद्को निर्णयमा उल्लेख गरिएको छ । प्रधानमन्त्री अध्यक्षताको प्राधिकरणको निर्देशक समितिको सिफारिस अनुसार म्याद थप गरिएको हो ।
कोरोना महामारीका कारण स्रोत व्यवस्थापन र निजी आवास पुनःर्निर्माणतर्फ सीमान्तकृत घरपरिवारले घर बनाई नसकेका कारण म्याद थपको सिफारिस गर्ने निर्णय समितिले गरेको थियो । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको ५ वर्ष बितिसक्दा पनि निजी आवासतर्फ ७१ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।
निजी आवास निर्माणलाई प्राथमिकतामा दिंदा पुरातात्विक सम्पदाको पुनःर्निर्मणमा ढिलाई भएको प्राधिकरणले जनाएको छ । समयावधि २०७८ सालको पौष ९ गतेसम्म कायम भएपनि अधिकांश स्थानमा पुनःर्निर्माणको काम जारी रहेकाले यही आर्थिक वर्षभित्र पुनःर्निर्माण सक्ने प्राधिकरणको दावी छ ।
प्राधिकरणले थपिएको अवधिमा निजी आवास, सिंहदरबार, रानपिोखरी एवं धरहरा पुनःर्निर्माणसँग सम्बन्धित अन्तिम फर्स्यौट गर्नुपर्ने कार्य गर्ने बताइएको छ ।


