भक्त्तपुर – भक्त्तपुरको मध्यपुरथिमि नगरपालिका ३ कौशल्टार भएको कार दुर्घटनामा परी १ युवतीको मृत्यु भएको छ ।
दुर्घटनामा कारमा सवार काठमाण्डौँ महानगरपालिका ४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको हो । दुर्घटना लगत्तै फरार भएका कारमा सवार अन्य ३ जनालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिन सफल भएको छ । उनीहरु सामान्य घाईते भएका छन् ।
भक्तपुरबाट काठमाण्डौँतर्फ जाँदै गरेको बा.८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिएर पल्टिएको थियो ।
कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाबारे जानकारी पाएको प्रहरी टोलीले लगत्तै घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पुरयाएको भएता पनि अस्पतालका चिकित्सकहरुले श्रेष्ठलाई मृत्त घोषित गरेका थिए ।
घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि १ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्की, कारमा सवार मध्यपुरथिमि ५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका ४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि कारमा सवार ३ जना फरार भएका थिए । दुर्घटनामा कार पूर्ण क्षति भएको छ ।


