एजेन्सी – अमेरिकाको नेब्रेस्कामा एक ६१ वर्षीय महिलाले आफ्नो समलिङ्गी छोरा र उनको श्रीमान्को सरोगेट आमा बन्दै आफ्नै नातिनी जन्माएकी छन् ।
सेसेल एलेड्जले ९ महिना पेटमा हुर्काएर छोरा म्याथ्यु र इलिएट डोथ्रीका लागि गत हप्ता उमा लुइसलाई जन्म दिएकी हुन् ।
एलेड्जले छोरा र उनको श्रीमान्ले परिवार शुरू गर्न चाहेपछि आफूले बच्चा जन्माइदिने प्रस्ताव राखेको बिबिसीले लेखेको छ ।
‘म स्वास्थ्यप्रति धेरै सचेत छु’ उनले भनिन् ‘म गर्भवती हुनसक्ने कुरामा शङ्का गर्ने प्रश्नै थिएन’ बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । उनका लागि छोराले वीर्य र छोराको श्रीमान्को बहिनीले डिम्ब दान गरे ।
डोथ्रीले महिला र पुरुषको जोडीले बच्चा पाउनका लागि कृत्रिम गर्भाधानलाई अन्तिम प्रयासका रूपमा हेर्ने बताए ।
पहिल्यै ३ सन्तान जन्माएकी आमा एलेड्जका लागि गर्भावस्था सामान्य नै रहेको थियो । यो घटनाले अमेरिकाका समलिङ्गी समुदायप्रति रहेको भेदभावलाई भने देखाएको छ ।
सन् २०१५ यता समलिङ्गी विवाहले मान्यता पाएको भए पनि सन् २०१७ सम्म नेब्रेस्कामा समलिङ्गी जोडीका लागि अभिभावक बन्न सम्भव थिएन ।
तस्बिर ARIELPANOWICZ.COM


