एजेन्सी – चीनको एक कोइलाखानी विषालु ग्यास चुहिएपछि खानीभित्र काम गरेका कम्तीका १८ मजदुरको मृत्यु भएको छ ।
दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको विवरण चीनको सरकारी टेलिभिजनले दिएको छ ।
शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड ग्यास चुहिएको बिबिसीले जनाएको छ ।
सीसीटीभीका अनुसार खानीमा काम गर्ने ५ जना अन्य मजदुर अझै हराइरहेका छन् भने १ जनालाई जीवितै उद्धार गरिएको छ । डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो।
चीनको कोइला खानीमा सुरक्षासम्बन्धी नियम पालना नगरिने भएका कारणले खानीमा प्रायः दुर्घटनाहरू भइरहने गर्दछ ।
गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो ।
गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइलाखानीमा विस्फोटनहुँदा १४ जनाको मृत्यु भएको थियो । चीनमा विश्वमै सबैभन्दा धेरै कोइला उत्पादन तथा खपत गर्ने देश हो ।


