उदयपुर – सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा ४ मजदुर घाइते भएका छन् । कटारी नगरपालिका ८ स्थित खानीमा बिहीबार राति १२ः१५ बजे विस्फोट भएको हो ।
घाइते हुनेमा कटारी नगरपालिका ८ का २४ वर्षीय विष्णुबहादुर मगर, ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका २ का दुर्गा तामाङ र मकवानपुरका ३० वर्षीय सागर मोक्तान रहेको इलाका प्रहरी कार्यालय कटारी जनाएको छ ।
उनीहरू कटारी अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । बम कसले राखेको भन्ने खुलि सकेको छैन । घटनास्थलमा शंकास्पद वस्तु अरू पनि देखिएपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको छ ।
विस्फोटबाट खानीमा रहेका ४ वटा एक्स्काभेटर र एउटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको छ । अज्ञात समूहले सुतली र सकेट बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।
साँकेतिक तस्बिर


