एजेन्सी – रुसमा १ लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
रुसले गएको अगष्ट महिनामा नै कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो ।
गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ ।
रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले रुसले आफ्ना नागरिकलाई सो खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएका छन ।
गएको महिना मात्र सो खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो ।
रुसमा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको छ । अहिलेसम्म २३ लाख ७५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भैसकेको छ ।


