काठमाण्डौ – नेकपाको आज हुने भनिएको सचिवालय बैठकमा अध्यक्ष केपी ओली उपस्थित नहुने भएपछि अन्यौलमा परेको छ ।
प्रधानमन्त्री ओलीले केही समय बैठक नराख्न आग्रह गरेपछि आजका लागि तय गरिएको सचिवालय बैठक अन्यौलमा परेको हो ।
यद्यपी दाहाल नेपाल समूहले भने प्रधानमन्त्रीको आग्रहका बाबजुद सचिवालय बैठक बस्ने बताएका छन् । बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।
बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुने जनाइएको छ । मंगलबार बैठकमा ओलीले दाहालको प्रस्ताव फिर्ता लिनु पर्ने र त्यसमा छलफल अघि बढाउन नहुने प्रस्ताव गरेका थिए ।
उत्त बैठकमा अधिकांश सदस्यले दुवै अध्यक्षको प्रस्तावमा छलफल अघि बढाउने बताएपछि ओलीले बैठकमा नआउने बताएका हुन् । ओलीले केही समय अनौपचारिक छलफल गरेर मात्रै पार्टीका कमिटिहरुका बैठक बस्नु पर्ने बताएका थिए ।
यता दाहालसहितका नेताहरुले छलफललाई निरन्तरता दिने भन्दै आज (बुधबार) दिउँसो १ः०० बजे बैठक राख्ने तयारी गरेका छन् ।


