काठमाण्डौं – कक्षा १२ को परीक्षाको नतिजा १ महिनाभित्रै सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।
विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी आगामी पुस १५ गतेभित्रै परीक्षाफल प्रकाशित गरिने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो ।
गएको वैशाखमै सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणको कारण रोकिएको थियो । परीक्षा १६ गते मंगलबार मात्रै सकिएको छ ।
बोर्डले १ साताभित्रै उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षणसमेत सुरु भइसकेको कार्यालयले जनाएको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्नेछन् ।
शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाएपछि ३ साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने बोर्डले जनाएको छ ।
यस वर्ष कक्षा १२ को परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । यस पटकको परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिने भएको छ । साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने बोर्डले जनाएको छ ।




















