काठमाण्डौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भनाभन भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपराह्न १ बजे बस्ने तय गरिएको बैठकलाई सुरक्षाका कारण देखाउँदै प्रधानमन्त्रीले बालुवाटारमै बस्ने प्रस्ताव गरेका थिए ।
सचिवालय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नुपर्ने बैठक बालुवाटारमा बसेर नहुने भन्दै अबदेखि पार्टी कार्यालय मै बैठक बस्नुपर्ने धारणा राखे ।
जवाफमा ओलीले सचिवालय बैठक नै जरुरी नभएको प्रतिक्रिया दिए बैठकमा सहभागी अन्य सचिवालय सदस्यहरुले ओलीको बिरोध गरेका थिए ।
बैठकमा ओलीले सचिवालयमा प्रस्तुत कुनै पनि दस्तावेजमा छलफल आवश्यक नै नरहेको र बैठक बस्नु पनि जरुरी नभएको बताएपछि प्रचण्डले अन्य सचिवालय सदस्यहरूलाई ‘कमरेडहरू बैठक नबस्ने र छलफल नै नहुने भन्ने कुरा सही हो त ?’ सोधेका थिए ।
विष्णु पौडेलबाहेक सबै सचिवालय सदस्यहरूले बैठक र छलफल दुवै आवश्यक रहेको र यसमा दायाँबायाँ गर्न नहुने धारणा राखेका थिए ।
ुसस्साकस्सीमा नै चलेको बैठकमा ‘बैठक नै हुन्न, छलफल नै हुन्न भन्ने तपाईं को हो ?’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईले अझै पनि आफूलाई पार्टीमाथि नै ठान्नुहुन्छ ? यसरी चल्दैन । तपाईंमा अलिकति रियालाइजेसन छ कि भनेको झन् दम्भ बढेर गएको देखिएको छ ।’
छलफल आवश्यक छैन भनेर ओलीले भनिसकेपछि वरिष्ठ नेता माधवकुमार नेपालले सबै समस्याको कारकतत्व नै ओली रहेको भन्दै कडा प्रतिवाद गरेका थिए । ‘हठ, अहं, दम्भ र स्वेच्छाचारिताको उदाहरण नै तपाईं बन्नुभयो कमरेड’ नेता नेपालले बैठकमा भने सचिवालय बैठकमा पेश भएका दस्तावेजमाथि मात्र होइन, सरकार बनेदेखिका तपाईंका क्रियाकलापका बारेमा छलफल हुनुपर्छ ।’
आजको सचिवालय बैठकमा पेश भएका दस्तावेजमाथि औपचारिक छलफल भएन । छलफल गर्ने कि नगर्नेमै नेताहरूको रस्साकस्सी देखिए पछि भोली १ बजे बैठक बस्ने गरी स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


