एजेन्सी – श्रीलङ्काको एउटा कारागारमा दङ्गा हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
माहारा कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गर्दा उत्त संख्यामा कैदी बन्दीको मृत्यु भएको बिबिसीले जनाएको हो ।
बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भिडन्त हुँदा ५२ जना घाइते भएको बताइएको छ।
श्रीलङ्काका जेलहरूमा अहिलेसम्म झन्डै १,००० जनामा कोरोनाभाइरस सङ्क्रमीत कैदी बन्दी रहेको छ।
प्रहरी प्रवक्ता अजित रोहनाका अनुसार जेलमा सुरक्षाकर्मीहरूले उच्छृङ्खल अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरेको बताए ।
कारागार परिसरमा ठूलो आगलागी भएको देखिएको स्थानीयवासीलाई उद्धृत गर्दै बिबिसीले समाचार लेखेको छ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताए । उनका अनुसार कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको छ।
राजधानी कोलम्बोस्थित बन्दीहरूले वेलिकाडा जेलको छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका छन् ।
बन्दीहरूले आगुनाकोलापालास्सा जेलमा ८ दिनदेखि प्रदर्शन गरिरहेका छन् । आफूलाई राखिएको उक्त कारागार नराम्रो अवस्थामा भएको उनीहरूको दाबी छ ।
मानवाधिकारवादी समूहहरूका अनुसार श्रीलङ्कामा १० हजार बन्दी राख्ने क्षमता भएका जेलहरूमा २६ हजार जना सम्मलाई राखिएको छ ।
गत महिना श्रीलङ्कामा एउटा गार्मेन्ट उद्योग र एउटा माछा बजारबाट कोरोनाभाइरस सङ्क्रमण फैलिएको पुष्टि भएको थियो ।
जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले श्रीलङ्कामा २३ हजार ४८४ जनामा कोभिड–१९ देखिएको र ११६ जनाको मृत्यु भएको देखाउँछ ।


