एजेन्सी – चीन र अस्ट्रेलियाबीचको विवाद चर्किंदै जाँदा चीनको परराष्ट्र मन्त्रालयले सोमवार अफगानिस्तानमा अस्ट्रेलियाका युद्धअपराधी भनिएका व्यक्तिको ‘नक्कली तस्वीर’ शेयर गरेको छ ।
अस्ट्रेलियाले यसमा आपत्ति जनाएको छ । यस्तो आपत्तिजनक पोस्टले चीन सरकारलाई लज्जित बनाउनुपर्ने भनी द सिड्नी मर्निङ हेराल्डले छापेको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले आफ्नो ट्विटर ह्यान्डलमा सोमवार बिहान एउटा तस्वीर शेयर गरे जसमा अस्ट्रेलियाको विशेष बलका एक सैनिकले एक अफगानी बालकलाई चक्कुले घाँटी काटेको र उसको टाउकोमा अस्ट्रेलियाको झण्डा बेरिएको देखिन्छ । ‘नडराऊ, हामी तिम्रा लागि शान्ति ल्याउँदैछौं,’ तस्वीरमा लेखिएको छ ।
अस्ट्रेलियाका सैनिकहरूले अफगानी नागरिक र कैदीको हत्या गरेकोमा आफू स्तब्ध भएको भनी झाओले ट्वीट गरे ।
यो तस्वीर वुहेकिलिन नामक चिनियाँ वुल्फ वारियर कलाकारले बनाएका हुन् । उनी पोहोर साल हङकङमा भएका विरोध प्रदर्शनका बेलामा बेइजिङपक्षधर चित्र बनाएर प्रसिद्ध भएका थिए ।
प्रधानमन्त्री बनेपछि स्कट मोरिसनले पहिलोपटक चीन सरकारविरुद्ध कठोर टिप्पणी गर्दै यस्तो पोस्टले संसारको आँखामा चीनलाई गिराउने बताए अनि परराष्ट्र मन्त्रालयले माफी माग्नुपर्ने बताए ।
‘चीन सरकारलाई यस्तो पोस्टले लज्जित बनाउनुपर्ने हो । संसारको आँखामा उनीहरूलाई यसले गिराउँछ,’ उनले भने ।
अस्ट्रेलियाको विशेष सैन्यबलका सैनिकहरूले अफगानिस्तानमा ३९ जना सर्वसाधारणको हत्या गरेको खुलासा ब्रेरेटन प्रतिवेदनमा भएपछि मानवअधिकारकर्मीहरूले अस्ट्रेलियाको आलोचना गरिरहेको बेलामा झाओको ट्वीट आएको हो ।
अस्ट्रेलिया र चीनबीच विगत सात महिनादेखि व्यापारयुद्ध चलिरहेको छ । यसक्रममा चीनले अस्ट्रेलियाबाट अनेकौं सामान ल्याउन प्रतिबन्ध लगाएको छ ।
अनि नोभेम्बर महिनाको आरम्भदेखि चीनले कोइला, चिनी, जौ, वाइन, तामा र काठ आयातमा अघोषित प्रतिबन्ध लगाएको छ ।
कोभिड–१९ को उत्पत्तिका विषयमा चीनमाथि अनुसन्धान गर्ने टोलीमा अस्ट्रेलिया पनि मिसिएपछि चीनले यस्तो प्रतिबन्ध लगाएको हो ।


