पोखरा – प्रहरीले पक्राउ गरेका पोखराका पत्रकार राजकुमार घिमिरेलाई स–सम्मान रिहाई गर्न महासंघ र प्रेस युनियनले माग गरेको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र नेपाल प्रेस युनियन कास्कीले प्रेस विज्ञप्ति जारी गर्दै पोखरापाटी डबटकम र सञ्चारकेन्द्र डटकममा कार्यरत पत्रकार घिमिरेलाई ससम्मान रिहाई गर्न भनेको हो ।
समाचार संकलन गरेर फर्कने क्रममा कास्की प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघ र युनियनले ध्यानाकर्षण भएको भन्दै प्रेस स्वतन्त्रताको रक्षा र स्वतन्त्रपूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण तयार गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कास्कीले ७ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा जनसभा गरेर फर्कदैं गर्दा बाटोमा प्रहरीले घेरा हालेर पत्रकारसहित विप्लवका अन्य कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीवस्ती स्थित सुकुम्वासीवस्तीमा जनसभा कार्यक्रमको आयोजना गरेको थियो । समाचार संकलन गरेर फर्किदैं गर्दा प्रहरीले पत्रकार घिमिरेलाई साँझ ७ बजे पक्राउ गरेको थियो ।



