काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठक बोलाएकै समयमा मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच विवाद बढ्दै जाँदा आजका लागि बोलाइएको पार्टीको सचिवालय बैठक मन्त्रिपरिषद बैठकका कारण अन्योलमा परेको छ । १ः०० बजे बैठक बोलाउने सहमति भएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि बैठक बस्ने नबस्ने थप अन्योल भएको हो ।
प्रधानमन्त्री ओली आजको सचिवालय बैठक सार्ने पक्षमा थिए । तर अर्का अध्यक्ष दाहाल सहितका ५ जना सचिवालय सदस्यले आजै जसरी पनि बैठक गर्ने तयारीमा छन् ।
गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै दिउँसो १ बजे अर्को बैठक राख्ने निर्णय गरेको थियो । तर ठीक त्यही दिन र समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राख्ने तयारी गरेका हुन् ।
नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए ।
फाईल तस्बिर




















