काठमाण्डौं – आज भाइटीका । कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड आज भाइटीका हो । भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार सप्तरङ्गी टीका लगाइदिने प्रचलन छ ।
तिहार पर्वको अन्तिम दिन मनाइने भाइटीकाले दाजुभाई र दिदीबहिनीबिचको सम्वन्धलाई प्रगाढ पार्ने जनविश्वास रहदै आएको छ । यसदिन दिदीबहिनीले आफना दाजुभाईको आयु आरोग्य सम्बृद्धिको कामना गर्दै अष्ट चिरञ्जिवीको पूजा गर्दछन् ।
भातृ प्रेम कि उपमा यमुना र उनका दाजु यमराजलाई आदर्श मानेर दिदीबहिनीले आफ्ना दाजुभाइप्रति सम्मान स्नेह र प्रेम प्रकट गर्ने गरिन्छ ।
आजको दिन दिदीबहिनीले दाजुभाइलाई शत्रुले बाधा नपारोस भनि ढोकामा सत्रुको प्रतिक मानेर ओखर फुटाउने गर्दछन् । टीकाको बेला दाजुभाइलार्इ तेल र दुवोले घेरा लगाएर फुल अक्षता चढाइ पूजा गर्दछन् ।
सप्तरंगी टीका लगाएर मखमली सयपत्रीको माला लगाइदिन्छन् । टीका थापिसकेपछि दाजुभाइले दिदीबहिनीलाई उपहार र दक्षिण दिने चलन छ ।
दिदीबहिनी तथा दाजुभाइ नभएकाहरुले आज काठमाण्डौंको रानी पोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर पूजाआजा गर्दछन् ।


