काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको विवादको जड नै प्रधानमन्त्री ओली भएको आरोप लगाएका छन् ।
आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गौतमले ओलीलाई सच्चिन समेत आग्रह गरेका छन् ।
करिब १ घण्टा लामो छलफलमा गौतमले पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुमा प्रधानमन्त्री ओली नै दोषी रहेकाले भन्दै यो समस्याबाट प्रधानमन्त्री ओली उम्किन नपाउने बताएका हुन् ।
पार्टीभित्रको विवादमा कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटार बोलाएका थिए । पछिल्लो समय ओलीले गौतमलाई उपप्रधानमन्त्री सहित सरकारमा सहभागी हुन आग्रह गरेको सन्दर्भमा २ जनाबीच भेटवार्ता भएको हो ।
गौतमले भने आफु सरकारमा नआउने जानकारी प्रधानमन्त्री ओलीलाई गराएको बुझिएको छ ।
यसअघि शुक्रबार पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधब नेपाल र गौतमसँग छलफल गरेका थिए ।
सत्तारुढ नेकपाभित्र केही समयदेखि विवाद चुलिएको छ । पार्टीका दुई अध्यक्षबीच भएको पत्राचार र आरोप–प्रत्यारोपका कारण पार्टी एकता अझ संकटमा परेको आकलन गरिदै आएको छ ।


