काठमाण्डौं – बंगलादेशमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पुगेको राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
ढाकामा हिजो (बुधबार) गरिएको कोरोना परिक्षणमा १ जना खेलाडीमा पोजेटिभ देखिएको हो । अन्य खेलाडीको नतिजा भने नेगेटिभ आएको छ ।
संक्रमण पुष्टि भएका खेलाडीलाई आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना देखिएसँगै उनले पहिलो मैत्रीपूर्ण खेल खेल्न नपाउने भएका छन् ।
गत हप्ताको रिपोर्टमा उनीसहित २५ खेलाडी र ११ अफिसियलको रिपोर्ट नेगेटिभ आएको थियो । यस अघि नेपालमै गरिएको परिक्षणमा ७ खेलाडीमा कोरोना देखिएको थियो ।
नेपालले भोलि (शुक्रबार) बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।



