काठमाण्डौं – बहराइनका प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको आज निधन भएको छ ।
८४ वर्षीय खलिफाको उपचारका क्रममा अमेरिकाको मायो क्लिनिक अस्पतालमा बुधवार विहान निधन भएको बहराइनका सञ्चार माध्यमहरुले जनाएका छन् ।
राजकुमारसमेत रहेका प्रधानमन्त्री सेख खलिफाको निधनमा बहराइनका राजा हमाद बिन इसा अल खलिफाले दुःख व्यक्त गरेका छन् ।
राजा हमादले उनको निधनमा ७ दिन शोक मनाउन र राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएका छन् । भोलिदेखि बहराइनका सम्पूर्ण सरकारी कार्यालय ३ दिनका लागि बन्द गरिने पनि बताइएको छ ।
सन् १९६९ मा बहराइनको प्रधानमन्त्री बनेका सेख खलिफा अहिलेसम्म पनि प्रधानमन्त्रीमा कायमै थिए । उनी विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति भएको अलजजिराले जनाएको छ ।


