काठमाण्डौं – राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परिक्षा केन्द्रमा अनिवार्य ‘हेल्थ डेस्क’ स्थापना गुनपर्ने भएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट परीक्षार्थीलाई जोगाउन प्रत्येक केन्द्रमा अनिवार्य ‘हेल्थ डेस्क’ को ब्यवस्था गरिएको हो ।
कोरोना संक्रमणका कारण माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ÷संस्थासँग समन्वय गरेर अनिवार्य रुपमा ‘हेल्थ डेस्क’को व्यवस्था गर्नुपर्दछ ।
निर्देशिकाले परीक्षार्थीहरू बीचको दुरी कम्तिमा २ मिटर कायम गर्नुपर्ने ब्यवस्था गरेको छ । परिक्षा हुने कोठामा २० भन्दा बढी विद्यार्थीहरु समावेश गर्न पाईने छैन ।
संक्रमणका कारण स्थगित परीक्षा ९ मंसिरदेखि सुरु गरेर १६ गते सकिने गरी तालिका सार्वजनिक गरेको छ । परिक्षा बिहान ८ बजेदेखि ९ः३० बजेसम्म संचालन गरिने भएको छ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।
बोर्डले कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गर्न लागेको हो । बाँकी ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट प्राप्त अंकबाट जोडिने बोर्डले जनाएको छ ।


