काठमाण्डौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘रअ’ प्रमुख र प्रधानमन्त्री ओलीका भेटलाई बचाव गर्दै गोयल नरेन्द्र मोदीको सन्देशबाहक भएर प्रधानमन्त्रीलाई भेटेको दावी गरेका छन् ।
नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा नेपाल भ्रमण गरेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटपछि आलोचना भइरहेका वेला नेता पोखरेलको यस्तो भनाइ आएको हो । सामाजिक सञ्जालमा पोखरेलले भारतीय प्रधानमन्त्रीको सन्देशबाहकका रूपमा ‘रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटेको दाबी गदै ‘भेटको विषयलाई लिएर प्रधानमन्त्रीको विरोध भएकोमा असन्तुष्टी जनाउँए । उनले ‘विरोधको योजना हो या नियति’ भन्ने प्रश्न समेत गरेका छन् ।
सत्तारुढ दल नेकपाका नेताले पनि परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेको भन्दै आपत्ति जनाएका वेला मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको बचाउ गरेका हुन् ।
उनले आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न आग्रह गर्दै नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् भन्ने कामना समेत गरेका छन् ।


