पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुले पाएको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
बुधबार बिहान प्रदेश मन्त्रिपरिषदको बैठकले दशैं भत्ता बापत पाएको सबै रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
यसअघि कोरोना महामारी सुरु हुनासाथै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उनको सचिवालयका सदस्यहरु र मन्त्रीहरुको १ महिनाको तलब कोरोना कोषमा जम्मा गरिएको थियो । मुख्यमन्त्री, मन्त्री र सांसदहरुले चाडपर्व भत्ता स्वरुप १ महिनाको तलब बराबरको रकम पाउँछन् ।
कर नकाटी आउने उक्त भत्ताको सबै रकम कोरोना कोषमा दाखिला गर्ने निर्णय मन्त्रिपरिषबाट भएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
यसअघि गण्डकी प्रदेश सभामा कांग्रेस र जनमोर्चाका सदस्यहरुले दसैं भत्ता फिर्ता गर्ने जनाइसकेका छन् । सांसदहरु सबैको खातामा प्रदेश सभा सचिवालयले दसैं भत्ता दाखिला गरिसकेको छ । सांसदहरुको मासिक पारिश्रमिक ५२ हजार रुपैयाँ हुन्छ ।
दलका सचेतकले भने ५४ हजार २०० रुपैयाँ पाउँछन् । प्रमुख सचेतकको तलब ५६ हजार ८४० रुपैयाँ हुन्छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७० हजार र मन्त्रीहरुको ६० हजार रुपैयाँ छ ।
मन्त्रिपरिषद्ले कोभिड १९ का बिरामीको निशुल्क उपचार गर्ने निर्णयसमेत गरेको छ ।




















