काठमाण्डौं – जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ३ जनालाई महानगरीय अपराध महाशाखा काठमाडौँले सार्वजानिक गरेको छ ।
चाँगुनारायण नगरपालिका ८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)लाई लुटपाटपछि हत्या गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ लेक खर्क घर भई काठमाडौँको थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोक चौतारा बतासे नगरपालिका २ घर भई हाल कामपा ७ बौद्ध बस्ने २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछाप धोवी गाउँपालिका ५ स्थायी घर भई हाल कामपा ७ बौद्ध बस्ने २७ वर्षीय प्रेम तामाङलाई आज प्रहरीले सार्वजानिक गरेको हो ।
पक्राउ परेका तिनै जनालाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिन सफलभ एको थियो । असोज २१ गते अपराह्न ४ः३० बजेको समयमा मृतक योञ्जनले सञ्चालन गरेको पसलमा मादक पदार्थ सेवन गर्दै आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहानामा १ किलोमिटर पर विडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइल लुटेर कुटपिट गरेका थिए ।
गंभिर घाईते योञ्जनको उपचारका क्रममा ग्रीनसिटी अस्पताल मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको बा. ९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल, मृतकको सुन बिक्रीबाट प्राप्त रु १ लाख ५५ हजारमध्ये रु ५४ हजार ६०० र गालेको सुन १ तोला १ लाल समेत बरामद गरेको छ ।


