डा.राजकुमार राई
कुनै पनि राजनीतिक पार्टीका चारवटा आधारभूत खम्बाहरू हुन्छन् ः आदर्श र सिद्धान्त, विचार, नेतृत्व र संगठन । पार्टी बलियो हुनका लागि पार्टीको आदर्श र सिद्धान्त, विचार, नेतृत्व र संगठन तीनैवटा पक्षहरू राम्रो हुनुपर्छ । यहाँ नेतृत्व भन्नाले एकल नेतृत्वमात्र नभई सामूहिक नेतृत्वलाई बुझ्न सकिन्छ । यी तीनवटा खम्बाहरूलाई हाम्रो रक्तसञ्चार प्रणालीसँग तुलना गर्न सकिन्छ । जसरी रक्तसञ्चारले मुटु र हाम्रा शरीरका अंगहरूका कोष–कोषमा रगतलाई ओहोरदोहोर गराउँछ, त्यसैगरी संगठनले पनि पार्टीको विचारलाई नेतृत्व र जनताबीच ओहोरदोहोर गराउँछ । अर्थात् नेतृत्वबाट आएको विचारलाई जनता सामु पु¥याउँछ र जनताका मुद्दाहरूलाई नेतृत्व सामु पुरयाउँछ । नेतृत्व भनेको मुटु, संगठन भनेको रक्तञ्सचार, विचार भनेको रगतमा हुने अक्सिजन र हाम्रो शरीरलाई चाहिने तत्वहरू हुन् र शरीरका कोषहरू भनेको जनता हुन् ।
संगठनले पार्टीले गर्ने गतिविधिलाई सञ्चालन र व्यवस्थापन गर्दछ । पार्टीले गर्ने हरेक क्रियाकलाप आफ्नो संगठनमार्फत गर्दछ । यसले पार्टीको विचारलाई जनताका सामु प्रचारप्रसार गर्दछ । संगठन बलियो भयो भने स्थानीय तहलगायत आमनिर्वाचनहरूमा सफलता मिल्न सजिलो हुन्छ । किनकि संगठन बलियो हुँदा पार्टी मतदाताहरूको पहुँचमा हुन्छ । कुनै पनि पार्टी कतिको ठूलो वा प्रभावशाली छ भन्ने मूल्यांकन त्यो पार्टीले राज्यका निकायहरूको निर्वाचनमा पाएको सफलतामा भर पर्छ ।
पार्टीहरूले संगठन विस्तारको क्रम सबैभन्दा पहिला आफ्नो पार्टीको विचारसँग सहमत व्यक्तिहरूलाई सदस्य बनाउँछ र तिनै सदस्यहरूमध्येबाट विभिन्न तहका समितिहरू बनाउँदै जान्छ । नेपाली कांग्रेसमा टोल समितिदेखि केन्द्रीय समितिसम्म गरेर आठवटा तहहरू छन् । त्यस्तै पार्टीभित्र विभिन्न पेशा, वर्ग, जातजाति आदिलाई समेट्न भ्रातृ र शुभेच्छुक संघसंस्थाहरू पनि निर्माण गरिएका छन् । संगठनमा लाग्नु भनेको नेतृत्व विकासको प्रक्रियामा सम्मिलित हुनु हो । संगठनमा जिम्मेवारी लिएको आधारमा राजनीतिकर्मीहरू नेता बन्दैजान्छन् । संगठनमा उसले कतिको प्रभाव पार्छ वा पार्टीको आन्तरिक निर्वाचनमा कतिको सफल हुन्छ त्यहीअनुसार उसको पद र जिम्मेवारी बढ्दै जान्छ ।
संगठनले जनताको सरोकारलाई छोएको हुनुपर्छ । जनतासँग भिजेको हुनुपर्छ । जनताले ठूलाठूला विकासको अपेक्षा गरेका हुँदैनन् । उनीहरूका सानासाना विषयहरूलाई ध्यान दिन सक्दा जनता खुशी हुन्छन् । जनआधारित संगठनमा लागेका नेता कार्यकर्ताहरूले जनताका भावनालाई बुझेका हुन्छन् । उनीहरू जनताको मुद्दा बोकेर हिँड्छन् । उनीहरूले जनताको विश्वास जितेका हुन्छन् । जनतासित बेलाबेलामा भेटघाट गर्ने उनीहरूको घरमा गएर खाना खाइदिँदा उनीहरू खुशी हुन्छन् । त्यस्तै विकासको काम गर्दा जनतासित जोडिनुपर्छ । जनतासित जोडिनका लागि उनीहरूसित मिलेर काम गर्न सकिन्छ । सरकारी बजेटले काम भइरहेको छ भने त्यो बजेटको बारेमा सरोकारवालालाई सम्पूर्ण हिसाबकिताब बताएर पारदर्शी बनाउनुपर्छ ।
तर विडम्बना यो छ कि जनआधारित संगठनमा लाग्नेहरूभन्दा नेताआधारित वा धनमा आधारित संगठनले बढी प्रश्रय पाइरहेको देखिन्छ । नेताआधारित संगठनमा नेता बढी हावी हुन्छन् । यस्तो संगठनमा संगठन हाँक्ने व्यक्ति जनता वा मतदाताबीच लोकप्रिय हुने वा नहुनेसँग मतलव हुँदैन तर नेताप्रिय भने हुन्छ । अवसरको बेलामा नेताले आफ्ना खल्तीबाट छनौट गर्छन् ।
अर्कोतिर संगठन सञ्चालनमा अहिले धनआधारित संगठनको बोलवाला छ । धनखर्च गर्न नसक्ने निष्ठाको राजनीति गर्न चाहने मानिसलाई राजनीति गर्न गाह्रो छ । अहिले संगठनमा लाग्ने कार्यकर्ताहरू पहिलाको जस्तो दुःख गर्ने खालका नभएर सुविधाभोगी भएका छन् । त्यसैले यदि कोही एउटा धनी मानिस जसलाई पार्टीको कुनै विचार नीति थाहा नभए पनि उसले सजिलोसित संगठन गर्नसक्छ । तर, त्यो किसिमको संगठन पार्टीका लागि त्यति भरपर्दो हुँदैन ।
पार्टी बलियो हुन जनआधारित संगठन हुनु जरुरी छ । जनआधारित संगठन नभएर नेताआधारित वा धनआधारित संगठन भयो भने संगठनमा गुटबन्दी सिर्जना र पार्टी अराजकहरूको भीडमात्र बन्दछ । पार्टीभित्र त्याग र निष्ठाको राजनीति गर्नेहरू ओझेलमा पर्छन् । नेतृत्वमा बस्नेहरू पनि जनआधारितभन्दा धनआधारित संगठनलाई बढी रुचाउने गरेको देखिन्छ । यसरी पार्टीमा सैद्धान्तिक विचलन आएको हुँदा, मूल्यमान्यताको राजनीति हुन छोडेको छ । निर्वाचनको बेलामा जनआधारित संगठकलेभन्दा नेताआधारित वा धनआधारित संगठकले पार्टीको टिकट पाउछन्, परिणाम त्यस्तैका पसमा जान्छ ।
नेपाली कांग्रेस मास बेष्ड पार्टी भएकाले यसले जनआधारित संगठनलाई अंगीकार गर्नुपर्छ । सांगठानिक कार्यलाई विकेन्द्रीकृत गर्नुपर्छ । पार्टीले गाउँगाउँ, टोलटोलमा डुलेर निष्ठाको राजनीति गर्दै जनतासँग भिज्नसक्ने संगठकहरूको विकास गर्नुपर्छ । र, निर्वाचनमा पनि उनीहरूको उच्च मूल्यांकन गर्दै पार्टीको उम्मेदवार उनीहरूलाई बनाउनुपर्छ ।
यसो गर्दा निष्ठाको राजनीति गर्नेहरूलाई प्रेरणा मिल्छ । नेपाली कांग्रेस साँच्चै जनआधारित पार्टी बन्ने हो भने यसका केन्द्रीय नेताहरू पनि वडाबाटै प्रतिनिधि भएर आउनुपर्छ । कम्युनिष्ट पार्टी भनेको नेता केन्द्रित पार्टी हो, जहाँ नेता सर्वेसर्वा हुन्छन् र कार्यकर्तालाई तिनको दास बनाइन्छ । तर, नेपाली कांग्रेस भने त्यसको ठीक उल्टो हुन्छ, जहाँ जनता मालिक हुन्छ र नेता तिनका सेवक हुन्छन् ।
जनआधारित संगठनको जतिसुकै वकालत गरेपनि नेताआधारित र धनआधारित संगठनको निर्मूल गर्न गाह्रो छ । यसकारण नेताआधारित संगठनमा नेताहरूले आफ्नो बुद्धि विवेक पु¥याउनुपर्छ । आफ्नो व्यक्तिगत हितभन्दा पार्टीको हितमा काम गर्नुपर्छ । अन्धभक्तहरूलाई संगठनको जिम्मेवारी दिनु हुँदैन । यसरी नेताआधारित र धनआधारित संगठनलाई जनआधारित संगठनमा परिणत गर्दै पार्टीलाई बलियो बनाउन सकिन्छ ।




















