गोरखा समाचारदाता
पोखरा – नोबल कोरना भाइरस (कोभिड–१९)बाट संक्रमित ब्यक्तिको शब ब्यवस्थापन गर्दा पोखरेली जनता र प्रहरी बिच झडप भएको छ ।
हिजो (बुधबार) राती स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु पछि शव व्यवस्थापनमा प्रहरी संग स्थानियको झडप भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचाररत ब्यक्तिको ज्यान गएपछि पोखरा महानगरपालिका ३१ मजुवामा रहेको सेतीघाटमा शव व्यवस्थापन गरिएको थियो । सोही क्रममा संक्रमणबाट ज्यान गएका व्यक्तिको शव गाडन नदिन भन्दै पोखरा महानगरपालिका वडा नम्बर ३२ का स्थानियले टायर बालेर विरोध प्रर्दशन गरेका थिए ।
शव गाड्नका लागि जेसिभिले खाल्डो बनाउँदै गर्दा स्थानीयले प्रदर्शन गरेका हुन् । आन्दोलित स्थानीयहरुले राजमार्ग नजिकै घाटतर्फ जाने बाटो केही समय अवरोध समेत गरेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हस्तक्षप गर्दा सामान्य झडप समेत भएको थियो । झडपमा केही स्थानीय घाइते भएको कास्की प्रहरीले जनाएको छ ।
संक्रमितको ज्यान गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक बाहेकका सबै सेवा आजका लागि बन्द गरिएको छ ।
यसअघि पनि पोखरामा संक्रमितको शब ब्यवस्थापन गर्दा स्थानिय जनप्रतिनिधी सहितले अवरोध गरेका थिए ।




















