गोरखा समाचारदाता
गोरखा – गण्डकी गाउँपालिकाको मकैसिंङमा १० वेडको आइसोलेशन कक्ष स्थापना गरिएको छ ।
मकैसिंङमा रहेको प्रार्थमिक स्वास्थ्य केन्द्रमा १० वेडको आइसोलेशन कक्ष स्थाना गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टले आरुघाट, मकैसिंङ, जौबारी र आँपपिपलमा १०÷१० वेडको आइसोलेशन तयार गर्ने निर्णय संगै मकैसिंङमा आइसोलेशन तयार पारिएको कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
प्रार्थमिक स्वास्थ्य केन्द्रबाट दिने सेवालाई प्रभावित नपर्ने गरी आइसोलेशन तयार गरिएको गोरखा अस्पतालमा सूचना अधिकारी कृण्ण ढकालले बताए । ‘अब गण्डकी गाउँपालिकाका १० जना संक्रमितलाई राखेर उपचार गर्न सहज हुने’ ढकालले बताए ।
आइसोलेशन स्थापना भए पनि केही उत्त कक्षमा केही सामाग्रीहरु थप्न बाँकी भएकोले केही दिन पछि मात्र सञ्चालनमा आउने गाउँपालिकाकी स्वास्थ्य प्रमुख बेली श्रेष्ठले बताईन् । ‘हामीले मंगलबार आइसोलेशन हेरयौं । केही लजिस्टीक थप्नुपर्ने पनि देखियो र डा.समेत बिरामी भएर बाहिर जानु भएकोले आए पछि मात्र आइसोलेशन सञ्चालनमा आउने’ श्रेष्ठले बताईन ।
सदरमुकामको गोरखा क्याम्पसमा १०० वेड, गोरखा अस्पतालमा २५ वेड, जौबारी, मकैसिंङ र आरुघाट स्वास्थ्य केन्द्रमा १०÷१० वेड र आँपपिपल अस्पतालमा १० वेडको आइसोलेशन तयार गर्ने निर्णय बमोजिम अहिले सम्म गोरखा क्याम्पसमा ७० वेड, गोरखा अस्पतालमा २५ र मकैसिंङमा १० वेडको आइसोलेशन बाहेक अन्य स्थानामा निर्माण हुन सकेको छैन् ।
संक्रमितको संख्या दिनानुदिन बढ्दै जादा उत्त संख्याको आइसोलेशनले समेत धान्न सक्ने देखिदैन तर निर्णय गरेर पनि निर्माणमा ढिलाई भएको आरुघाट र जौबारी स्वास्थ्य चौकी, आँपपिपल अस्पतालमा अहिले सम्म कुनै पनि कामको थालनी हुन सकेको छैन् । परिस्थितीको गांभिर्यतालाई ध्यान दिन नसके भोलीका दिनमा संक्रमितलाई राखेर उपचार गर्ने स्थानको अभाव हुने निश्चित छ ।




















