गोरखा समाचारदाता
काठमाण्डौं – सर्वोच्च अदालतले आइसोलेसन बसेकाहरुको पीसीआर परीक्षण गराएर मात्र घर पठाउन आदेश दिएको छ ।
अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्ताङको इजलासले पिसीआर परिक्षण बिना घर नपठाउन आदेश दिएको हो ।
आइसोलेशनमा बसेकाहरु पूर्ण रूपमा निको भए नभएको सुनिश्चित गरेर मात्रै बिरामीलाई घर पठाउन आदेश दिएको छ । आइसोलेसनमा रहेका बिरामीहरूको संख्या र सरकारका परीक्षणको क्षमता हेर्दा आइसोलेसनमा रहेका बिरामीहरूको पुनः पीसीआर परीक्षण गर्न सकिँदैन भन्ने नदेखिएको आदेशमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस परीक्षणको विषयमा २०७७ जेठ २२ गतेको निर्णय अनुसार ल्याएको कोरोना परीक्षण सम्बन्धि निर्देशिका कार्यान्वयन नगर्नू भन्दै अदालतले यस्तो आदेश दिएको हो ।
स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकामा आइसोलेसनमा रहेका बिरामीलाई लक्षण नदेखिए १४ दिनमा घर पठाउने व्यवस्था गरिएको थियो । सर्वोच्चको आदेशसँगै अब सरकारले आइसोलेसनमा रहेकाहरुलाई पीसीआर परीक्षण नगराई घर पठाउन पाउने छैन ।
रिटमा सोमबार आदेश भएपनि त्यसको प्रति भने सर्वोच्चले आज मात्रै सार्वजनिक गरेको हो ।


