गोरखा समाचारदाता
काठमाण्डौं – कोरोनाको बहानामा नेपालमा भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले ठहर गरेको छ ।
भ्रष्टाचार भएको/नभएकोबारे हेर्ने नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले कोराना महामारीको बेला नेपालमा झनै भ्रष्टाचार बढेको जनाएको हो ।
सरकारले कोरोना रोकथामको क्रममा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि क्वारिन्टीनको दयनीय अवस्था, पीसीआर किट्सलगायत अन्य स्वास्थ्य सामग्रीको अभाव तथा राहत वितरणमा देखिएको भद्रगोललगायतको अवस्था हेर्दा खर्चबारे धेरै प्रश्न उब्जिएको जनाएको छ ।
१० अर्ब रुपैयाँ कहाँ गयो भनेर सदन र सडकबाट प्रश्न उठेपछि सरकार हिसाब देखाउन बाध्य भएको तर हिसाब विवरण पनि अपूरो र झारा टार्ने प्रकृतिको रहेको ट्रान्सपरेन्सीको ठहर छ ।
सत्य तथ्यभन्दा पनि हचुवाको भरमा खर्च विवरण सार्वजनिक हुनुले राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग भएको हुनसक्ने सम्भावना रहेको ट्रान्सपरेन्सीले विज्ञप्तीमार्फत शङ्का जनाएको छ ।
ओम्नी ग्रुपसँग महँगोमा औषधि र उपकरण खरिद गरिएको र उसँग गरिएको ठेक्कापट्टा असल मनसायले गरिएको थियो भनि विश्वस्त रहने अवस्था नरहको ट्रान्सपरेन्सीले जनाएको छ ।
सरकार–सरकार अर्थात् जी टु जी प्रक्रियामार्फत औषधि खरिद गर्ने निर्णय अनुसार नेपाली सेनामार्फत औषधि किन्ने भनिए पनि बिचौलियाको प्रवेश भएको र सेनाको काममा अनियमितता भए पनि छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार नपुग्ने भएकाले भ्रष्टाचारको थप जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले अनियमिततामा संलग्न दोषीहरुलाई कारबाही गर्न माग गरेको छ ।


