गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुको संख्या सोमबार बिहान सम्म ३ लाख १६ हजार ७ सय नाघेको छ ।
विश्वभर संक्रमित हुनेको संख्या ४८ लाख ४ हजार ८ सय नाघेको छ । संक्रमित मध्ये १८ लाख ५४ हजार ८ सय भन्दा बढी मानिस सफल उपचार पछि घर फर्किएका छन् ।
विश्वकै शक्तिशाली अमेरिकामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार ९७८ पुगेको छ । अमेरिकामा १५ लाख २७ हजार ६ सयभन्दा बढी संक्रमित भइसकेका छन् ।
पछिल्लो समय रुसमा पनि संक्रमणको दर उच्च देखिन थालेको छ । रुसमा २ हजार ६३१ जनाले ज्यान गुमाएको छ भने २ लाख ८१ हजार ७ सय भन्दा बढी संक्रमित देखिएका छन् । संक्रमणको दर हेर्ने हो भने अमेरिकापछि रुसको नाम आएको छ ।
संक्रमणकै कारण बेलायतमा ३४ हजार ६ सय, इटलीमा ३१ हजार ९ सय, स्पेनमा २७ हजार ६ सय र फ्रान्समा २८ हजार १ सयभन्दा बढीको ज्यान गुमाई सकेको छन् ।
नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ९६ हजार १ सय नाघेको छ । त्यहाँ ३ हजार २९ जनाको ज्यान गई सकेको छ । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ४२ हजार १ सय नाघेको छ भने ९०३ जनाले ज्यान गुमाएका छन् ।


