गोरखा समाचारदाता
महोत्तरी – महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाको मध्यपृतना कार्यालयलाई सिल गरिएको छ ।
पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको हो ।
सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबासको किसान नगरमा रहेको ब्यारेक सिल गरिएको हो । त्यस ब्यारेकमा करिब २ हजार सेना बस्दै आएको अनुमान गरिएको छ । पृतनापतिसँगै सोही ब्यारेकका १ चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमण बढ्न नदिनका लागि सेनाहरुलाई आवतजावतमा रोक लगाइनुका साथै सामाजिक दूरी कायम राख्नका लागि भनिएको छ । संक्रमित दुवैजनालाई उपचारका लागि काठमाडौँस्थित सशस्त्र प्रहरी बलम्बुस्थित आइसोलेशनमा पठाईएको छ । संक्रमित दुवै जना प्रदेश दुईको विभिन्न स्थानमा गएर स्वाब संकलनमा खटिएका थिए ।


