गोरखा समाचारदाता
काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सरकारलाई कोरोना भाइरसले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञान नभएको आरोप लगाएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संघिय संसदमा बोल्दै नेता देउवाले सरकारमा जनताको संवेदना बुझ्न सक्ने हृदय नभएको र यस्तोबेला जनतालाई आस्वस्त पार्ने योजना समेत केही नभएको आरोप पनि लगाए ।
उनले कोरोना संक्रमण फैलिएको ४ महिना सम्म पनि थोरै मानिसमा मात्र परीक्षण हुनु, स्वास्थ्य उपकरणको अभाव हुनुले कोरोना नियन्त्रणमा सरकार असफल भएको दावी समेत गरे ।
सभापती देउवाले कोरोना कहरबाट बिदेशमा रहेका हजारौं मानिस स्वदेश फर्कन चाहेकाले तिनका बारेमा ठोस् कार्ययोजना ल्याउन सरकारसँग माग समेत गरे । राजनीतिक लोकप्रियताका लागि गरिने घोषणाले नीति तथा कार्यक्रमको गरिमा नै हराएको उनको दाबी थियो ।
सरकारलाई जनताको दुखः प्रति कुनै वेदना नभएको भन्दै उनले जनताको पिडा बुझ्न सक्ने हृदय नभएको भनी टिप्पणी गरे । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षिय योजनाको कोरा कल्पना जस्तो देखिएको भन्दै नेता देउवाले नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पुर्णतः असफल भएको दाबी पनि गरे ।


