गोरखा समाचारदाता
काठमाण्डौं – बिहीबार मृत्यु भएकी सुत्केरी महिलालाई कोरोना पुष्टी भए संगै तालिम प्राप्त नेपाली सेनाले उनको पशुपतिमा रहेको विधुतिय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।
सिन्धुपाल्चोक बाह्रिबिसेको २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा ज्यान गएको थियो । स्वास प्रस्वासमा समस्या आए पछि धुलिखेल अस्पतालमा उपचार गराएकी उनको बिहीबार ज्यान गएको थियो ।
अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरे पछि उनको शबलाई नेपाली सेनाले अन्त्यष्टी गरेको हो ।
मृत्तक महिलाको ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि–२०७६’ अनुसार नै अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ ।
८ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी उनी डिस्चार्ज भएपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको आफ्नो घर फर्किएकी थिइन् । तर, श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याएर भेन्टिलेटरमा राख्न्ने क्रममा मृत्यु भएको थियो ।
अस्पतालमा उनको आरडिटी परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि स्वाबको थप परीक्षणका लागि टेकु पठाइएको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना पोजेटिभ सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीको नमूना संकलन गरी परीक्षणको काम भइरहेको छ । उनका परिवारका सदस्यको पनि स्वाव संकलन गरिएको छ ।




















