गोरखा समाचारदाता
काठमाण्डौं – संसदको दुवै सदनमा आज (आईतबार)देखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुँदैछ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो । दुवै सदनको बैठक बिहान ११ बजे बोलार्इएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेश गर्नेछन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
संसदीय प्रचलन अनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे २ दिन छलफल गर्ने तयारी छ । सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले मंगलबार दिने कार्यतालिका तयार गरिएको छ ।


