गोरखा समाचारदाता
गोरखा – गोरखाको सिउरेनीटारमा मृग मारेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।
गएको बैशाख २८ गते नजिकैको जंगलमा मृग मारी मासु भाग लगाउदै गर्दा सिउरेनीटार निवासी खुमबहादुर माझी पक्राउ परेका थिए ।
पक्राउ परेको माझीले बयानका आधारमा रतुवा मृग मार्न भूमिका निर्वाह गर्ने गण्डकी गाउँपालिका ८ सिउरेनीटारका मधु भुजेल, दुर्गाबहादुर भुजेल, शिव रेग्मी, पूर्णबहादुर माझी, डिबी सापकोटा र रोल्पा घर भई हाल सिउरेनीटार बस्ने इन्द्रजित ओलीलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
शिकार गरी घरमा ल्याएको मृग काटिरहेको अवस्थामा प्रहरीले मृग र माझीलाई बैशाख २८ गते आइतबार पक्राउ गरी कार्यालयमा बुझाएको थियो ।
नियन्त्रणमा लिइएकाहरुलाई वन ऐन २०७६ को दफा ४९ (त) अनुसारको वन्यजन्तु अवैध शिकार गरेको कसुरमा मुद्धा दर्ता गर्ने तयारी कार्यालयले गरेको छ ।
कसुर प्रमाणित भएको खण्डमा २० हजार देखी ५० हजार रुपैयाँ जरिवाना वा ६ महिनादेखी १ बर्ष सम्म वा दुवै सजाय हुने कानूनी प्रावधान छ ।
तस्बिर सौजन्य डिभिजन बन कार्यालय गोरखा


