गोरखा समाचारदाता
गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बाँझो जमिन खेती गर्नेलाई अनुदानको ब्यवस्था गरेको छ ।
कृषि व्यवसायलाई प्रोत्साहन गर्ने गरी बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने निर्णय गरेको हो ।
गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि गर्न र मानिसहरुलाई रोजगार बनाउन पालिका भित्र रहेको बाँझो जमिनमा खेती गरेको खण्डमा प्रति रोपनी ३ हजार अनुदान दिने निर्णय भएको पालिकाका अध्यक्ष विण्णु भट्टले बताए । ‘बाझो जमिन उपयोगमा ल्याउने उद्देस्यले अनुदानको कार्यक्रम ल्याएको’ उनले बताए ।
गाउँपालिकाले लगातार २ बर्ष वा सो भन्दा लामो समय खेती नगरिएको जग्गामा खेती गर्ने किसानहरुलाई अनुदान स्वरुप नगद दिन लागेको हो । पालिकाले अहिले आफ्नो क्षेत्र भित्र कति बाँझो जमिन छ भनेर लगत राख्ने काम गरिरहेको छ । गाउँ पालिकालाई उत्पादनमा आत्मानिर्भर बनाउन यो कार्यक्रम फलदायी हुने बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ ।
पालिकाले किसानलाई उपलब्ध गराउने अनुदान बाली अनुसार फरक हुने छ । खाद्य र तरकारी बालीलाई प्रतिरोपनी ३ हजार, मसला बालीलाई प्रतिरोपनी २ हजार ५०० रुपैयासम्म र फलफूल बाली लगाउने कृषक, कृषि समुह वा फर्मलाई प्रतिरोपनी २ हजार रुपैयाँका दरल रकम उपलब्ध गराइने छ ।


