इन्दिरा कार्की
राजन त्यो टोलकै धनाढ्य । छोराछोरी सबै युरोप लाखौं कमाउँथे । बुढालाई अलि घमण्ड पनि थियो धनको । सधैं बिहान चियापसलमा जाने उनको बानी नै थियो । चियापसलमा छोराछोरी बिदेश नपठाएको भनेर भाइ भतिजालाई पनि गाली गर्थे । आफ्ना छिमेकीहरुलाई पनि नेपालमा राखेर छोराछोरी बिगार्ने काम गर्योे भन्दै नेपालमा के भबिष्य छ यिनको ? भन्दै कराउँथे ।
आफ्ना छोराछोरी नेपालमै हुनेहरु हत्तपत्त उनलाई भेट्न डराउँथे । बिस्तारै चिया पसलमा मान्छे कम हुँदै जान थाले । बिदेश छोराछोरी नपठाएकाहरु चिया पसलमा जम्मा हुनै छाडे । उनीहरुलाई हिनताबोध हुन थाल्यो । बाआमाले छोराछोरीलाई हुतिहाराहरु भनेर कराउन पनि सुरु गरे । फलानाका छोराछोरीहरु लाखौं कमाउँछन हाम्राचाहिँ यो गति ! छोराछोरीलाई पनि लाग्न थाल्यो के हामी बिदेश नगएर गल्ती नै गर्या हो त ? घरघरमा तनावको सृजना हुन थाल्यो ।
सुनसान चियापसलमा आज फेरि भिड जम्मा छ किन होला ? मान्छेहरु अचम्मित छन । यो भिड देखेर सबै दौडेर त्यहाँ जम्मा हुन थाले । गाडी दुर्घटना भएछ राजन बितेछन । टोलमा नै सन्नाटा छायो किन ? कसरी ? बिदेश फोन भयो छोराछोरी बोलाउन, छोराछोरी आउन नपाउने भए । पोस्टमार्टम सकियो । कतिदिन कुर्ने ? बुढी हस्पिटलमा छिन बेहोस चारदिन भैसक्यो । आफन्तजन अन्यौलमै थिए। अब के गर्ने ? कसो गर्ने ? त्यहिबेला हरि आए म गर्छु ठुलो बुवाको क्रियाकर्म भन्दै, जो मास्टर थिए ।
हिजोसम्म नजिक पर्न डराउने हरिले आज ठुलो बुवाको पाउ समातेर ढोगे, हातले सुमसुम्याए । शवलाई खुब हेरे आँशु झार्दै रुँदै भने, ठूलो बुवा म हजुरको नजिक बस्न माया पाउन सधैं तडपी रहे । म दशैमा हजुरको हातको टीका लगाउन चाहान्थे तर डर लाग्थ्यो हजुर सामु आउन, म त बिदेश नजाने छोरो । थोरै कमाए पनि आफ्नै परिवारसङ्ग बस्नु पर्छ भन्ने थोत्रो आदर्श बोकेको गरिब छोरो म, ठूलो बुवा ! हेर्नुस न हजुर त्यति ठूलो महलमा बस्नुहुन्थ्यो म यो सानो झुपडीमा ! कसरी मैले हजुरलाई आफ्नो ठूलो बुवा भनूँ ? बिलौना गर्दै दागबत्ती दियो हरिले ।
तेह्रदिनको कर्म सिध्याएर उ घर फर्कने तयारी गर्दै थियो । ठूली आमाले भनिन, बाबु म पनि तिमीसंगै जान्छु । हजुर म सङ्ग जाने ?
हो छोरा, अब मलाई सम्पति होइन माया र साथ चाहिन्छ । बूढीले एकचोटि फर्केर घरलाई हेरिन, राजनलाई सम्झिन, छोराछोरी र बुहारीलाई सम्झिन अनि पिताको निधनहुँदा पनि आउन नपाउने उनीहरुको विवसतालाई सम्झिन अनि आफ्नो छोराछोरी बिदेश हुँदा आफुहरुले देखाएको दम्भ सम्झिन ।।।
लेखक भरतपुर १२ स्थित चितवन ग्रीनल्याण्ड पब्लिक स्कूलकी प्राचार्य हुन





















