गोरखा समाचारदाता
गोरखा – उत्तरी गोरखामा संकलन गरिने यार्सागुम्बु संकलनमा रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तत्कालको लागि यार्सागुम्बु संकलन नगर्न भनेको हो ।
कोरोना भाइरस (कोडिभ–१९) को रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गठिन गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टले हिजो (शुक्रबार) बसेको बैठकले ‘सुरक्षा र स्वास्थ्यको संवेदनशिलतालाई ध्यानमा राखी हालको परिपेक्ष्यमा संकलन गर्न उपयुक्त नदेखिएकोले संकलन गर्ने कार्य नगर्न नगराउन सरोकारवाला सबैमा जानकारी गराउने’ निर्णय गरेको हो ।
कमाण्ड पोष्टका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको बैठकले ‘हाल विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोडिभ–१९) संक्रमणबाट बच्न देशमा जारीरहेको लकडाउनको अवस्थामा यस जिल्लाको मनास्लु संरक्षण क्षेत्र अन्तरर्गत चुमनुब्री गाउँपालिकाको उच्च हिमाली क्षेत्रबाट बार्षिक रुपमा संकलन गरिदै आएको बहुमुल्य जडिबुटी यार्सागुम्बाका संकलन कार्य’ मा रोक लगाउने निर्णय गरेको हो ।
उत्त कार्यका लागि चुमनुब्री गाउँपालिका संग समन्वय गर्ने र निर्णय विपरीत कोही कसैले यार्सा संकलन गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने समेत बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाका अनुसार उत्तरी गोरखाको उच्च हिमाली क्षेत्रमा बैशाख १५ देखी यार्सा संकलन गर्ने समय हो । तर यो बर्ष बढी नै हिमपातले भएकोले जेष्ठको पहिलो साता देखी संकलन गर्न मिल्ने बताए । यार्सा संकलनका लागि निवेदन लिने र राजश्व जम्मा गर्ने जिम्मा समेत पाएको आयोजना संग भने गएको बर्ष कति यार्सा संकलन भयो त्यसको यंकिन तथ्यांक भने छैन ।
गत बर्ष त्यस क्षेत्रका मानिसहरुले प्रति किलो १० देखी १५ हजार सम्ममा यार्सा बिक्री गरेको सामा स्थानियले बताए । ३ हजार ५०० मिटर देखी माथिको जमिनमा पाईने यो किरा कतिपयले भने लुकीछुपी निकासी गर्ने आयोजनाले जनाएको छ ।
यार्सा उत्तरी गोरखाको सामाको चरिचरन क्षेत्र, छेकमपारको निले भन्दा माथि फुचुङ खर्च र सिर्दिबासको पाङसिङमाथि लेक मात्र पाईने गर्दछ । यहाँ पाईने यार्सा चोरी नाका हुदै चीनको तिब्बत तर्फ बढी निकासी हुने गर्दछ ।
बार्षिक रुपमा करोडौ रुपैयाँको यार्सा संकलन गर्दै आएका उत्तरी गोरखाका सर्व साधारणले यस पटक भने यार्सा संलकनबाट आउने आम्दानी लिन नपाउने निश्चित भएको छ ।


