इन्टरनेटमा एक भिडियो भाइरल भएको छ, जसमा भनिएको छ – सुपरस्टार आमिर खानले अनौठो तरिका अपनाएर निम्न आय हुनेलाई पैसा दिएका छन् उक्त भाइरल भिडियोका अनुसार बलिउड अभिनेता आमिर खानले गुजारा चलाउन धौ धौ हुनेलाई बाँडनका लागि गहुँको आटाको प्याकेट हालेर एक ट्रक पठाएका थिए । उक्त ट्रक दिल्लीबाट एक पिछडिएको गाउँका लागि पठाइएको थियो ।
खबरका अनुसार आटाको हरेक प्याकेटमा १५ हजार रुपैयाँ पनि राखिएको थियो । केही भारतीय सञ्चार माध्यमका अनुसार आटाका प्याकेट जसलाई अति आवश्यक थियो, उनीहरुले मात्र लिए । र, उनीहरुले १५ हजार पनि पाए । जसलाई आवश्यक छ, उसले आटाको प्याकेट राख्नेछ, अरुले एउटा आटाको प्याकेट पनि के राख्नु भनेर राख्ने छैनन् भन्ने अर्थमा यसरी राहत बाँडिएको चर्चा सामाजिक सञ्जालमा छाएको छ ।
यद्यपि यो भिडियो वास्तविक हो या होइन भन्ने अझै पुष्टि भएको छैन । आमिर खानले बलिउडका अन्य स्टारले भन्दा फरक तरिकाले सामाजिक सेवा गर्ने गर्छन् । त्यसैले पनि आमिरले फरक तरिका अपनाएर सहयोग गरेको भन्दै फ्यानले धन्यवाद समेत व्यक्त गरेका छन् ।




















