तिलक पौडेल
करिव ७२ मीटरको उचाइमा रहेको झापाको केचनाकलनदेखि सर्वोच्च शिखर सगरमाथासम्मको अविच्छिन्न भू–धरातल भएको हाम्रो मुलुकमा, नभएको विश्व भनेको त्यही ७२ मीटर हो । यस मानेमा शेष उचाइका जैविक, वानस्पतिक विविधता विद्यमान छ । त्यसमाथि भाषिक, साँस्कृतिक, प्राकृतिक विविधता हाम्रा अमूल्य निधि मानिनुपर्ने हो । समुद्रसँगको प्रत्यक्ष सम्पर्क नभएको भूपरिवेष्ठितता पनि समुचित परिचालन गर्न सके अभिशापै भनेर दुःखमनाउ गरिरहनु पर्ने विषय होइन । अनुपम प्राकृतिक छटाहरुको संग्रहालय हाम्रो देश, अन्यान्य मुलुकको भूबनौट अझ भनौं प्राकृतिकताभन्दा आकर्षक भएको तथ्य प्रमाणितिई सकेको सत्य हो, तथ्य हो ।
तर –
जो बेला जे व्यवस्था, दियो प्रकृति नियमले, त्यो त्यही हुन्छ राम्रो ।
जो मान्दैन राम्रो, समझ अबुझ हो, हो त्यसैको नराम्रो ।।
भन्ने काव्यिक अभिव्यक्ति मनन गर्न नसक्दा हामीले भौगोलिक विविधता, पहाडी संरचनालाई बरदानमा परिणत गर्न नसकेर अभिशाप ठानी समिचीन विकास गर्न बाधक बनेको परिभाषा गरिरहेका छौं । वास्तवमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाका बोक्रे भलाद्मी जस्ता अर्थात् आफ्नो कलम सुताएर अर्काको लेखमा नाक चेप्य्राउने लेखक जस्ता छौं । बरु हामीले आफ्नो “क”, “A”बनाउने कार्य सम्पादन नगरी साविकै वर्णहरु स्वीकारी रहेकाछौं भने विद्वान् महोदयहरुले एक पटक आफ्नो ब्रह्मले देखेको लेखेर छपाएको व्यहोरा पढेर मनन गरी दिने, समिचीन प्रतिक्रिया जनाउने गर्दा हुन्छ नि ! यसको गर्ने हो भनेत्यो विद्वततामा नि:सन्देह निख्खरता आउने थियो । आखिर जन्मदै कसले पो के जानेको हुन्छ र ! तर हामी भाग्यवादीका नाउँमा डोकोमा दूध दुहुने धृष्टतामा रम्न/रमाउन जाति मान्छौं अनि कर्मवादीका नाउँमा उही आफ्नो हातको घडी फुकालेर अर्कोलाई दिएर समय सोध्ने जस्तै दैला अगाडिको फोहोर व्यवस्थापन समेत अरुले गरिदेओस् भन्दछौं ।
गुणरत्नमालामा भनिएकोछ कि–
लेखेको जति भाग्यमा छ उति ता, मिल्छ अवश्यै भनी ।
उद्योगै सब छाड्दिने मनुजको, नासिन्छ भाग्यै पनि ।।
तोरीमा तिलमा छ तेल तर त्यो, आफैं कहाँ झर्छ र ?
पेल्नै पर्छ विना प्रयत्न मुखमा, आएर के पर्छ र ??
त्यस्तै, हामीले विदेशी पर्यटकका लागि आकर्षणका विषय, प्रकृतिका अनुपम उपहार – हरिया डाँडा-पाखा, भञ्ज्याङ्-चौतारी, खोला-नाला, स्वेतहिमशिखरादि रुपीतोरी र तेलभएर पनि पेल्नेसम्मको कार्य नगर्दा तेल रुपी हाम्रो आय, आर्जिन सकिरहेको अवस्था छैन । तसर्थ, यस आलेखमा पर्यटन प्रबर्धनका लागि एक सुझाव प्रस्ताव गरिएको छ । जुन कुनै-कुनै जिल्लाहरुले त आफ्नो आवधिक जिल्ला विकास योजनामा निम्न व्यहोरा “एक वर्षमा ………..जिल्ला (………..District in One Year)”लाई समाहित गरेको पाइएको छ । यस मानेमा “एक वर्षमा नेपाल”किन नबनाउने ? यसो गर्दा सके सप्रेला, नभए बिग्रने त पक्कै छैन । कि यसो गर्नै नसकिएला ?पर्यटनविद्हरुबीच रायबझानको विषय बने जाती नै होला भन्ठानेर यो प्रयास गरिएको छ।
पर्यटकहरु स्वदेश/विदेशमा किन पर्यटन गर्दछन् ?भन्ने प्रश्नको सोझो र स्पष्ट उत्तर मन बहलाउनु हो । यसका लागि मनचिन्ते स्थान, रीति-स्थिति, संस्कृति आदिको अवलोकन गरी मन बहलाउनु पर्यटकहरुको पहिलो र खाटी प्राथमिकता हुने गर्दछ । यसर्थकुनैपनि पर्यटकले हेर्न लायक कुनैपनि व्यहोरा कृत्रिमरुपकोभन्दा प्राकृतिकरुपको अवलोकन गर्नमा आनन्द मान्दछ । यसमानेमा बैशाखमा आउने पर्यटकलाई तीजको नृत्य, दशैंको परम्परा देखाउनुले खासै तुक राख्दैन । त्यसकारण, कुन परम्परा, संस्कृति, भेषमुषा कुन ठाउँमा, कहिले, कुन प्रसङ्गमा मनाइन्छ/प्रदर्शन गरिन्छ/देखाइन्छ/लगाइन्छ? भन्ने व्यहोरालाई सङ्कलन गरी समिचीन प्रचार-प्रसार गर्नुले पर्यटकीय आकर्षणमा निख्खरता/प्रकृतितता (Originality/Naturality) झल्किनेमा सन्देह गर्नु परोइन । यसबाटपर्यटकहरुले पनि आफूलाई मनपरेको ठाउँको, मनपरेको क्रियाकलाप सञ्चालन हुने ठीक समयमा आफ्नो समय छुट्ट्याउन सक्ने हुन्छन् र सोही बमोजिम पर्यटन गर्न सक्छन् । कृत्रिमतालाई भन्दा प्राकृतिक व्यहोरालाई धेरै मन पराउनु संभवतः मानवीय स्वभाव नै हो ।
बरु यस तथ्यलाई मूर्तरुप दिन – हरेक गाउँपालिकाहरुले आफ्ना कला, संस्कृति, भेषभूषा, चाडपर्व, परम्पराहरु, ऐतिहासिक-धार्मिक-साहसिक-प्राकृतिक पर्यटकीय स्थलहरुको संक्षिप्त विवरण तयार पार्ने रकुनै वर्षको वैशाख सक्रान्तिबाट चैत्र मसान्तसम्मको साँस्कृतिक, धार्मिक व्यहोराहरुलाई सिलसिलेवार रुपमा लिपिबद्ध गरी”एक वर्षमा …….. गाउँपालिका” भनी संभव भए श्रव्यदृष्य नभए श्रव्य त्यो पनि असंभव देखिए पाठ्य सामग्री तयार पार्न सकिन्छ । सोही विवरण सङ्कलन गरी अर्थात् आफूअन्तरगतका गाउँपालिकाहरुको व्यहोरालाई समेटी, नछुट्ने र नदोहोरिने हिसावले “एक वर्षमा ………. जिल्ला” नामक उल्लिखित सामग्री तयार पार्न सकिन्छ । त्यसैगरी जिल्ला-जिल्लाको व्यहोरा सम्पादन गरी प्रदेशको तयार गर्दै अन्ततः पर्यटकीय हिसावले “एक वर्षमा नेपाल”भन्ने पाठ्य/श्रव्य/श्रव्यदृष्य सामग्री तयार हुनसक्छ । जसका लागि हरेक गाउँपालिका, जिल्ला समन्वय समिति, प्रदेशस्तरीय कार्यालयहरुलाई सक्रिय गराउनु पर्ने हुन्छ । तयार भएको सामग्रीलाई अन्यान्य भाषाहरुमा समेत अनुवाद गराइयो भने थप तुकपूर्ण हुनसक्छ ।
यसो गर्नाले पौष, चैत्र जस्ता विवाह उत्सव नमानाइने महिनातिर आउने पर्यटकहरुलाई विवाहोत्सवमा बजाइने पञ्चैबाजा/नौमती बाजा, रत्यौली भनेर वादक/गायक/नर्तकहरुलाई बजाउन/गाउन/नाच्न लगाउँदा, कलाकारमा प्रकटिने कृत्रिम प्रस्तुतिभन्दा मार्ग, माघ आदि महिनामा कसैको वास्तविक वैवाहिकोत्सवमा आफ्नै परम्परागत धरोहर कायम राख्ना खाँतिर वादन/गायन/नृत्य गर्ने कलाकारको प्रस्तुति सोह्रैआना आकर्षक हुन्छ । त्यस्तो प्राकृतिक प्रस्तुतिमा सरिक हुने पर्यटकको आत्मतुष्टि पनि निःसन्देह अधिक हुनुपर्छ । यस मानेमा हाम्रा तिथिका आधारमा मनाइने ऋषितर्पणी/रक्षाबन्धन, हरितालिका/तीज, विजया दशमी, तिहार/भाईटिका आदि चाडहरु एवं मितिका आधारमा मनाइने वैशाखे सक्रान्ति, असारे पन्ध्रम, साउने सक्रान्ति, पुसे पन्ध्रम, माघे सक्रान्ति जस्ता उत्सवहरुको सिलसिलेवार प्रस्तुतिका सामग्री तयार पारी उल्लिखित “एक वर्षमा …..” मिलाउनु अनिवार्य हुन्छ ।
यदि यसो गर्न सकियो भने पर्यटकीय आकर्षणका सम्पदा रुपी तोरी र तिलबाट तेलरुपी आय आर्जन गर्न र कतै भैरहेको भए आय बढाउन सकिई रोग, भोक, अशिक्षा, गरिबी रुपी शत्रुलाई पराजित गर्न अलि सहज होला कि ?देशहितार्थ निर्णयतहका विज्ञहरुले मनन-मन्थन गरौं ।
…सके सपारौं, नसके नबिगारौं…
#हामीसबैकोकल्याणहवोस्#





















