गोरखा समाचारदाता
गोरखा – गोरखा जिल्लाको गण्डकी गाउँपालिका भूम्लीचोकका किसानले बजारमा काक्रो बिक्री गर्न नपाए पछि करोडौं रुपैयाँ घाटा ब्यहोरेका छन् ।
त्यहाँका किसानले हरिया तरकारी संगै वेमौषमी काक्रो बिक्री गर्न नपाउदा घाटा ब्यहोर्न बाध्य भएका हुन् ।
गण्डकी गाउँपालिका भुम्लीचोककै खानीखोलाकी धनमायाँ श्रेष्ठले यो वर्ष केबल ३० हजार रुपैयाँको मात्र काक्रो बेचिन । १ लाख भन्दा बढी लगानी गरेर ३ हलको मेलोमा ३ हजार ५०० बोट काक्रो लगाएकी उनलाई अब यो वर्ष भरी के खाने भन्ने चिन्ताले सताएको छ ।
गत बर्ष ५ लाख भन्दा बढीको काक्रो बेचेकी धनमायाँलाई लकडानका कारण बजारमा काक्रो बिक्री गर्न नपाए पछि यो वर्ष भरी भात खान, छोरा छोरीलाई पढाउन र सहकारी मार्फ लिएको ऋण तिर्न धौ धौ हुने भएको हो ।
समस्यामा उनी मात्र छैनन् । खानीखोला र आईडाडाँका सबै घर परिवारले यो सिजनमा मनग्य आम्दानी गर्ने भनेकै काक्रोबाट हो ।
यो वर्ष त लगानी पनि उठेन, अब वर्ष भरी केले हातमुख जोर्ने ? भुम्लिचोक खानीखोलाका अर्का किसान केरबहादुर श्रेष्ठको गुनासो थियो । यो क्षेत्रमा १०० सय भन्दा बढि कृषकले काक्रो खेती गरेका छन ।
पृथ्वीराजमार्गको फिस्लिङ भन्दा पारी रहेको ५ सय रोपनी भन्दा बढि क्षेत्रफलमा वर्षेनी व्यसायीक काक्रो खेति हुँदै आइरहेको छ । यस वर्ष भने सिसन सुरु हुने बित्तिकै लकडाउनका कारण किसानले काक्रो बेच्न नपाका हुन् ।
काक्रो निक्लन सुरु भएको मात्र थियो । लकडाउनका कारण तरकारी संकलक केन्द्र फिस्लीङ सम्म प्रहरीले कुनै पनि किसानलाई आउजाउँमा रोक लगाए । गाउँ सम्म गाडी आउने कुनै उपाय नै थिएन । बोकेर बजार सम्म पनि जान नपाउने र गाडी पनि गाउँमा नआउने भए पछि किसानले काक्रोमा पानी पनि हाल्न छाडे र भिटामिन पनि ।
पाखा भरी देखिने काक्रोको झ्याङ अहिले सुकेको छ । बेच्न नपाएपछि किसानले काक्रोको स्याहार गर्न पनि छोडिएका हुन् ।
फलेको काक्रो पनि बोटमै कुहिएको छ । कतिपय कृषकहरुले टिपेर बस्तुभाउ खुवाउने गरेका छन् । अधिकाशंले मल हुन्छ भनेर बारीमा छोडिएका छन् ।
यो क्षेत्रमा मात्रै दैनिक ५० टन काक्रो उत्पादन हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ । गाउँपालिकाले तयार पारेको तथ्यांक अनुसार दैनिक १ टन भन्टा, ५०० टन काउली र बन्दा, २०० केजी गोलभेडाका साथै ११ हजार वटा अण्डा उत्पादन हुने गर्दछ ।
उत्पादित सबै कृषि उपजले बजार नपाएपछि किसानलाई मर्कामा परेको छ । यो क्षेत्रमा उत्पादित सबै सामाग्री राजधानीको कालिमाटी स्थित तरकारी बजार, चितवन र पोखरामा खपत हुने गर्दथ्यो ।



