गोरखा समाचारदाता
गोरखा – जिल्ला प्रशासनले अब ४ प्रकारको पासको लागि मात्र आवेदन गर्न माग गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै आज देखी अत्यावश्यकीय ४ प्रकारको पासका लागि मात्र आवेदन दिन भनेको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाले जारी गरेको सूचना अनुसार ‘कार्यालयबाट जारी गरेको सूचना बमोजिम जिल्ला भित्र अलपत्र परेका कामदारहरुलाई उद्वार गरी निजहरुको स्थायी ठेगाना सम्म पुरर्याउने कार्यको म्याद सकिएको’ भन्दै अब देखी त्यस्ता कार्यका लागि पास जारी नहुने भएकाले अन्य कामका लागि मात्र पास जारी हुने समेत सूचनामा भनेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार गृह मन्त्रालयले दिएको समयावधी अनुसार जिल्लाबाट बाहिर जानको लागि मंगलबारबाटै पास रोकिएको छ । पौडेलका अनुसार मन्त्रालयले अर्को सूचना जारी नगर्दा सम्म अब जिल्लाबाट बाहिरने कोही कसैलाई पनि पास जारी हुने छैन ।
लकडाउनको पहिलो चरणमा जिल्लाबाट ७०० मानिस जिल्ला बाहिर गएको अनुमान गरिएको छ । कार्यालयले जारी गरेको पासका आधारमा मंगलबार सम्म पनि विभिन्न जिल्लामा जाने कामदारहरु बाहिरिएकाले एंकिन तथ्यांक भने नआएको कार्यालय श्रोतले जानकारी दिएको छ ।
के के को पास पाइन्छ त अब ?
१) औषधी/खाद्यान्न/दाना तथा चल्ला/माछामासु/तरकारी जन्य सामाग्री ढुवानीको लागि
२) दुर संचार सेवा/विद्युत सेवा/बैंकिङ सेवाह प्रवाहको क्रममा मर्मत संभार लगायत
३) विरामी/सुत्केरीलाई अस्पताल लिएर जानुपरेमा
४) नजिकको ब्यक्तिको मृत्यु भएमा मृत्यु संस्कारमा जानुपर्ने भएमा





















