गोरखा समाचारदाता
गोरखा – प्रशासनको सूचनालाई वेवास्ता गर्दै मानिसहरु भेला हुन नछाडेको भन्दै कारवाही गर्ने चेतावनी सहित पुनः सूचना जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले यस अघि जारी गरेको सूचनाको बर्खिलाप मानिसहरु भेला हुन नछाडेको भन्दै अब आईन्दा त्यसो गरे कडाकारवाही गर्ने भन्दै पुनः सूचना जारी गरेको हो ।
कार्यालयले चैत्र १० गते ‘जिल्ला भित्र हुन सक्ने संभावित संक्रमणको उच्च जोखिम न्यूनिकरण तथा नियन्त्रणको लागि जिल्ला भित्र सञ्चालन हुने त्यावश्यक बाहेकका सम्पूर्ण यात्रुवाहक सहितका सवारी साधान सञ्चालनमा रोक, औषधी तथा खाद्यान्न बाहेक आ–आफ्नो घर तथा बासस्थानभन्दा बाहिर ननिस्कन’ अनुरोध गर्दै सूचना जारी गरेकोमा ‘सूचनालाई वेवास्ता गरी विभिन्न धार्मिक, साँस्कृतिक तथा सार्वजनिक स्थलहरु जस्तैः मठ, मन्दिर, मस्जिद, अर्घौ आदिमा धेरै मानिसहरु भेला/जम्मा भई कार्यक्रम गर्ने, जमघट भई भिडभाड गर्ने गरिएको भन्ने सुन्नमा आएकोले यस्ता क्रियाकलापहरु नगर्नु नगराउनुहुन पुनः अनुरोध गर्दै यस कार्यालयबाट जारी सूचनाको वेवास्ता गरी सो विपरितको क्रियाकलापहरु गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने’ भन्दै चैत्र १६ गते पुनः सूचना प्रकाशन गरेको हो ।
कार्यालयका अनुसार कोरोना भाइरस (कोडिभ–१९)को यस्तो महामारीको बेलामा पनि मानिसहरुले रोगलाई सामान्य रुपमा हेरेकोले सूचना जारी गरी कारवाही गर्ने चेतावनी दिनुपरेको जनाएको छ ।
जिल्लाको ग्रामिण भेगमा अहिले पनि मन्दिर, मस्जिद तथा अर्घौ जस्ता कार्य नरोकिएको र त्यस्ता स्थानमा धेरै संख्यामा मानिसहरु जम्मा हुने भएकोले रोग सर्न सक्ने संभावना धेरै रहेको देखिन्छ । यस्ता कार्यलाई बेलैमा रोकथाम गर्न सकिएन भने कुनै पनि दिन महामारीको चपेटामा पर्न सकिने खतरा रहिरहन्छ ।





















