गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित देशको संख्या २०० नाघेको छ ।
तीन महिनाअघि चीनबाट सुरु भएको भाइरस २०१ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३० हजार ८७९ पुगेको छ भने ६ लाख ६३ हजार ७४० जना संक्रमित भएका छन् ।
बिहान यो समाचार तयार पार्दा सम्म इटलीमा कोरोना भाइरसका कारण १० हजार २३ जनाले ज्यान गुमाएका छन् । संक्रमित हुनेको संख्या ९५ हजार ५ सय पुगेको छ । त्यहाँ शनिवार मात्रै थप ८८९ जनाको ज्यान गएको छ ।
उता, अमेरिकामा संक्रमितको संख्या १ लाख २४ हजार नाघेको छ । यो संख्या संक्रमण फैलिएका देशहरु मध्येको सबैभन्दा बढी हो । त्यहाँ ज्यान गुमाउनेको संख्या २ हजार २११ पुगेको छ । त्यहाँ शनिवार मात्रै १९ हजार ३०० भन्दा बढी संक्रमित भेटिएको हो ।
उता, स्पेनमा पनि संक्रमितको संख्या ७३ हजार नाघेको छ । त्यहाँ शनिवार मात्रै ७ हजार ५०० संक्रमित थपिएका छन् भने ज्यान गुमाउनेको संख्या ५ हजार ९८२ पुगेको छ । फ्रान्समा पनि एकै दिन ३१९ जनाको ज्यान गएको छ ।
फ्रान्समा संक्रमितको संख्या ३७ हजार ५०० नाघेको छ भने २ हजार ३१४ जनाको ज्यान गइसकेको छ । कोरोनाका कारण इरानमा २ हजार ५१७, बेलायतमा १ हजार १९, नेदरल्याण्ड्समा ६३९, बेल्जियममा ३५३ जनाको ज्यान गएको छ ।
त्यसैगरी, जर्मनीमा ४३३, स्वीट्जरल्याण्डमा २६४, इण्डोनेशियामा १०२, टर्कीमा १०८, पोर्चुगलमा १०० र दक्षिण कोरियामा १४४ जनाको ज्यान गएको छ ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ भने ९८७ जना संक्रमित भएका छन् । भारतमा एकै दिन १०० जना संक्रमित थपिएका छन् ।


