एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन । कोरोना भाइरसले थलिएको अर्थतन्त्र सुधारका लागि ट्रम्पले १ दशमलव ७ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका हुन् ।
प्याकेजमा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषय समेटिएको छ । विधयेक दुवै सदनबाट पारित भएलगत्तै राष्ट्रपति ट्रम्पले यसमा हस्ताक्षर गरेका हुन् । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालीन राहत प्याकेज हो ।
प्याकेजमा एकजना करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ वर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख छ । वार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ ।
अमेरिकामा शुक्रबार झण्डै १७ हजार नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक लाख नाघेको छ । मृत्यु हुनेको संख्या १६ सय सात पुगेको छ । अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या विश्वमै सबैभन्दा धेरै हो ।



