एजेन्सी – विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट ‘पीपीई’ अभाव अहिलेको सवैभन्दा ठूलो चुनौती भएको बताएको छ ।
जेनेभामा भएको नियमित पत्रकार सम्मेलनमा ‘डब्लुएचओ’का महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसले डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पीपीई उत्पादन बढाउनका लागि पुनः अपिल गरेका हुन् ।
उनले कम तथा मध्यम आय भएका देशका स्वास्थ्यकर्मीले पनि धनी देशका स्वास्थ्यकर्मीले जस्तै सुरक्षात्मक सामग्री पाउनु पर्नेमा जोड दिए । डब्लुएचओका आपतकालीन अवस्था सम्बन्धी शीर्ष विज्ञ माइक रायनले विश्व अनिश्चित भविष्य तर्फ लागेको बताए ।
उनले विश्वका धेरै देशहरुमा यो महामारी चक्रको सुरुवात मात्रै भएको र केही देशहरु यो महामारीको चक्रबाट गुज्रिएको भन्दै यी देशहरुमा रोग पुनः नफैलियोस् भन्ने सचेतना अपनाउनुपर्ने बताए ।
कोरोना भाइरसको संक्रमणको जोखिम वृद्ध तथा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हुने भए पनि ५० वर्षमुनिका १० देखि १५ प्रतिशत व्यक्तिमा पनि मध्यम तथा गम्भीर संक्रमणको जोखिम रहेको डब्लुएचओले जनाएको छ ।


