गोरखा समाचारदाता
काठमाण्डौं – बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएको छ ।
हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरलमा ज्यान गएको हो ।
बुधबार ६१ वर्षीय बुवा सुधीर शर्माको ज्यान गएको थियो भने ३३ वर्षीया छोरी पूजाको बिहीबार ज्यान भएको हो ।
पूजाको निधन अस्पताल भर्ना भएको ३ दिनमै भएको थियो । दुबैको अन्त्येष्टिमा कोही पनि मलामी नभएको समाचार द सनले लेखेको छ ।
समाचारका अनुसार आफ्ना श्रीमानको अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन् ।
‘यो तुलना नै गर्न नसकिने पीडा हो’, स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ, ‘उनकी श्रीमती आइसोलेसनमा बस्नु परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन । यो निकै दर्दनाक अवस्था हो ।’
बुवा सुधीरलाई विमानस्थल वा कहाँ भाइरस संक्रमण भएको भन्ने खुलेको छैन । विमानस्थलमा प्रिय अधिकृतका रूपमा चिनिएका उनलाई जनवरी ७ मा संक्रमण भएको थियो ।


