एजेन्सी – स्पेनिस फुटबल महासंघ ‘आरएफईएफ’ले कोरोना भाइरसका कारण आर्थिक रुपमा संघर्ष गरिरहेका फुटबल क्लबलाई सहयोगका लागि ५ सय मिलियन युरोको सहयोग घोषणा गरेको छ ।
म्याच खेल्न जान नसकेको अवधिमा टेलिभिजन अधिकारमाथि दाबी गर्न नसक्ने क्लबलाई सो रकम सहयोग गर्ने महासंघले जनाएको छ ।
रकम पाँच बर्षको अवधिमा भुक्तान गरिने ‘आरएफईएफ’ले जनाएको छ । महासंघले गैर व्यवसायीक महिला तथा पुरुष टिमलाई समेत करिब ४ मिलियन युरो ऋण दिने बताएको छ ।
महासंघले मनोवैज्ञानिक र फिजियोथेरापिस्ट सहित राष्ट्रिय टिमका होटल र कर्मचारीलाई देशको स्वाथ्य सेवामा उपयोग गर्न आग्रह गरेको छ । स्पेनमा हालसम्म ४९ हजारभन्दा बढी संक्रमित भएका छन् । ३ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।


