एजेन्सी – विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ का कारण ज्यान जाने र संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
कोरोना सत्रंमणवाट १९८ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २१ हजार २८३ जनाको ज्यान गएको छ । ४ लाख ७१ हजार भन्दा बढीमा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । १ लाख १४ हजार उपचारपछि घर फर्किएका छन् ।
चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । सबैभन्दा धेरै मानिसको ज्यान इटालीमा गएको छ ।
थप ६८३ जनाको ज्यान गएपछि त्यहाँ कोरोनाका कारण ज्यान जानेको संख्या ७ हजार ५०३ पुगेको छ । संक्रमितको संख्या ७४ हजार ३ सय भन्दा बढी छ । इटालीमा ९ हजार ३६२ जना उपचारपछि घर फर्किएका छन् ।
स्पेनमा ३ हजार ६४७ जनाको ज्यान गई सकेको छ । स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्भो कोरोना संक्रमित पुष्टि भएको छ । इरानमा कोरोनाकै कारण २ हजार ७७ जनाको ज्यान गएको छ ।
जर्मनीमा २०६ जनाको ज्यान गएको छ भने ३७ हजार ३२३ जना संक्रमित छन् ।
अमेरिकामा १ हजार २७ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ६८ हजार नाघेको छ ।
फ्रान्समा १ हजार ३३१ जनाको ज्यान गएको छ । २५ हजार भन्दा बढी संक्रमित छन् । दक्षिण कोरियामा १२६ जनाको ज्यान गएको छ भने ९ हजार १३७ जना संक्रमित छन् ।
यस्तै बेलायतमा कोरोनाका कारण ४६५ जनाको ज्यान गएको छ । यता छिमेकी मुलुक भारतमा १२ जनाको ज्यान गएको र संक्रमितको संख्या ६५७ पुगेको छ ।


