गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरस (कोभिड १९( को संक्रमणका कारण इटालीमा अहिले सम्म ६ हजार भन्दा बढी मानिसको ज्यान गई सकेको छ । त्यहाँ गएको २४ घण्टा भित्र मात्रै ७४३ जनाले ज्यान गुमाएको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएको छ ।
कोरोना भाइरसका कारण इटालीमा मंगलबार सम्ममा ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । मंगलबार एकै दिनमा ७४३ जनाले ज्यान गुमाएका थिए । त्यहाँको मृत्युलाई हेर्ने हो भने तत्काल रोकिने संकेत नदेखिएको बीबीसीले लेखेको छ ।
इटलीमा गएको बिहीबार ४२७, शुक्रबार ६२७, शनिबार ७९३, आइतबार ६५१, सोमबार र मंगलबार ७४३ जनाले ज्यान गुमाएका थिए ।
महामारी विशेषज्ञ पियरलुइजी कोकोले बीबीसीलाई दिएको अन्तरबार्तामा इटालीमा यती धेरै संख्यामा मानिसको ज्यान जानुको कारण अनुवांशिकी कारण हुनसक्ने बताएका छन ।इटली विश्वका सबैभन्दा धेरै पाका व्यक्ति भएको देश हो ।
कोकोका अनुसार इटलीका जनताको साँस्कृतिक र सामाजिक गतिविधिका कारण पनि संक्रमण फैलाउन मद्दत गरेको दावी गर्दछन । त्यहाँका जनता समूहमा बस्छन्, भेट्नासाथ एकअर्कालाई चुमेर प्रेम साटासाट गर्छन् ।
परिवारका सदस्यहरु पनि आपसमा निकै नजिक हुन्छन् त्यसै कारण पनि त्यहाँ ज्यान जानेको संख्या धेरै भएको हुनुपर्ने कोकोले दावी गरेका छन । उनले इटलीको उत्तरी इलाकामा मृत्युको संख्या बढ्नुमा त्यहाँको वायु प्रदुषण पनि हुन सक्ने आशंका गरेका छन ।
इटलीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ६९ हजार १ सय ७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस १९५ देश प्रभावित भएको छ ।


