गोरखा समाचारदाता
गोरखा – गोरखा अस्पतालको ओपिडी सेवा केही दिनका लागि बन्द गरिएको छ ।
अस्पतालले सोमबार सूचना जारी गर्दै केही दिनको लागि उत्त सेवा बन्द गरेको जनाएको हो ।
अस्पताल प्रशासनका अनुसार कोरोना भाइरसको जोखिमका कारण अस्पतालबाट दिईने नियमित सेवा अन्रर्गतको ओपिडी सेवा चैत २१ गतेसम्मका बन्द गरेको जनाएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णयका आधारमा कोरोना भाइरसको बढ्दो संक्रमणबाट हुनसक्ने जोखिमलाई व्यवस्थापन गर्नुपर्ने भएकाले अस्पतालबाट प्रदान गर्दै आएको यो सेवा तत्कालका लागि स्थगित गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटण्डेण्ट डा.नबिन थापाले बताए ।
यो अवधिमा अस्पतालले प्रदान गर्दै आएको मानसिक स्वास्थ्य, फिजियोथेरापी, पोषण, परिवार नियोजन, दन्तसेवा आदि सेवा बन्द हुने छ । त्यसै गरी अस्पतालले तत्काल उपचार नगर्दा हुने समस्याका लागि २ हप्तासम्म अस्पताल नआउन पनि सर्व साधारणहरुलाई आग्रह गरेको छ ।
अस्पतालले ज्वरोको लक्षण भएका बिरामीहरुलाई ‘फिवर क्लिनिक’बाट नियमित उपचार गर्ने भएको छ । त्यस्तै गरी दिर्घरोगीहरु मधुमेह, उच्चरक्तचाप, दम जस्ता रोगीहरुलाई आफुले खाएको औषधी नियमित रुपमा घरमै बसेर सेवन गर्न र आकस्मिक उपचारका लागि भने अस्पताल २४ घण्टा खुल्न रहने डा.थापाले बताए ।


